Kathmandu Press

अत्यधिक गर्मीले जनजीवन कष्टकर

पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो। 
अत्यधिक गर्मीले जनजीवन कष्टकर

वीरगञ्ज, जेठ १८ : विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ। पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो। 

विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको वीरगञ्जका व्यापारी रामकृष्ण साहले बताए। यस्तै अत्यधिक गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन्। 

अचानक बढेको तापक्रमका कारण जिल्लामा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले जानकारी दिए। 

उनका अनुसार अहिले दैनिक ६ सयदेखि ८ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । त्यसका कारण अस्पतालमा शय्याको अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता सिंहले बताए। 

गर्मीका कारण सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुरी गर्ने बढी प्रभावित भएका छन्। दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सकको भनाइ छ। गर्मीका कारण बजारमा चिसो पेयपदार्थ, फलफूलको जुस र चिसो पानीको बिक्री बढेको व्यापारी बताउँछन्।  

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्