प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मा गान्धीप्रति सम्मान
भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन्।
नयाँदिल्ली, जेठ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्।
भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन्।
महात्मा गान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री गान्धीप्रति सम्मान प्रकट गर्न राजघाट पुग्ने गर्छन्। भारत सरकारले राजघाटलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गरेको छ।
राजघाटमा राखिएको पुस्तिकामा प्रधानमन्त्री दाहालले महात्मागान्धीलाई अहिंसाका प्रवर्तक एवं शान्ति र सत्याग्रहमार्फत स्वतन्त्र भारत निर्माण गरेका व्यक्तित्व भनी टिप्पणी गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आइपुगेका हुन्। आजै उनले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।











