Kathmandu Press

अत्यधिक गर्मीले जनजीवन प्रभावित, बिरामी बढे

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताउँछन्।
अत्यधिक गर्मीले जनजीवन प्रभावित, बिरामी बढे

धनुषा, जेठ १८ : धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ। जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो।

जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ।

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो। बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन्।

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन्। सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ। गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन्।

बिरामी बढे

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन्।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेको बताइएको छ।

गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ। दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक बताउँछन्।

बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन चिकित्कसहरुले सर्वसाधारणलाई सुझाव दिएका छन्।

बन्द हुँदै विद्यालय बन्द

समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ। क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए।

‘अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्’, उनले भने, ‘घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ।’ समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताउँछन्।

गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउँछन्। ‘विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ,’ गुप्ताले भने, ‘बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन्।’

चिसो पेय पदार्थको बिक्री बढ्यो

गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ। अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ। अहिले जनकपुरधाम बजारका होटल तथा चोकचोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ।

अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले बताए।

दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भुप्रसाद गुप्ताले बिहानदेखि साँझसम्म चिसो पिउनेको भीड लाग्ने गरेको बताउनुभयो । महेन्द्रनगरका विशाल डेरीका सञ्चालक विजय यादवले कुल्फी, आइसक्रिमको बिक्री वितरण बढेको बताए ।

प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्