Kathmandu Press

प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्रीकाे स्वागत

प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ।
प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्रीकाे स्वागत

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

बुधबार दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाँच जना मन्त्रीसमेत छन्। जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन्। दाहालकी छोरी गंगा दाहाल पनि भ्रमणमा सामेल छिन्।

प्रधानमन्त्री दाहाल चार दिने औपचारिक भारत भ्रमणका लागि आज अपराह्न १ बजेर ३५ मिनेट जाँदा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणमा क्रममा दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ। सो वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि गरिने परारष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । दाहालले नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने छन्। प्रधानमन्त्री नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्