६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने बालेनको चेतावनी
कानुनअनुसार विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने छुट नदिएको भन्दै ६८ स्वास्थ्य संस्थालाई कारबाहीका लागि उनले आग्रह गरेका हुन्।
काठमाडौं, जेठ १७ : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतसमक्ष अनुरोध गरेका छन्।
कानुनअनुसार विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने छुट नदिएको भन्दै ६८ स्वास्थ्य संस्थालाई कारबाहीका लागि उनले आग्रह गरेका हुन्। महानगर प्रमुख शाहले आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै सात दिनभित्र कारबाही नगरिए स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी दिएका हुन्।
महानगरले यही जेठ ६ गते एक सूचना जारी गर्दै महानगरभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्यसम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउन सूचना जारी गरेको थियो।
प्रमुख शाहले नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको बताएका छन्।
स्वास्थ्य सेवामासर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइएको उनको भनाइ छ।











