नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
१५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्क्याएकाे विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन्।
काठमाडौं, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार बिहान विधेयक प्रमाणीकरण गरेको बताइएको छ।
राष्ट्रपति पौडेलले सरकारले जेठ १२मा गरेको अनुरोधका आधारमा विधेयक प्रमाणीकरण गरेका हुन्। विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपति पौडेलले कानुन विद्हरुसँग पनि छलफल गरेका थिए।
संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन्।
दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो ।
१५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन्।











