पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो
‘नामांकनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
मोरङ, जेठ १६ : प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि कोशी प्रदेश सरकारले आव्हान गरेको छ। सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरलाई आन्दोलन स्थागित गरी वार्तामा आउन आग्रह गरेका हुन्।
आइतबारको प्रदेशसभा बैठकमा अधिकांश सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेको थियो । सोही बमोजित सरकारले वार्ताका लागि आव्हान गरेको हो।
‘नामांकनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्ने विज्ञप्तिमा उल्लेख छ।
गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । नाम संशोधनका लागि प्रदेश १ पुनस् नामाङ्कन संयुक्त संघर्ष समिति मार्फत पहिचान पक्षधरले प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेको छ।
आइतबार प्रदेशसभा भवन बाहिर पहिचान पक्षधर कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो।