तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले ससदीय दलका उपनेता सुवास नेम्वाङ नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल छन्। उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को संक्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरेका थिए।
नेम्वाङ अहिले पनि संघीय संसदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आउएका छन्। डेढ दशकदेखि मुलुकमा भइरहेका राजनीतिक र शासकीय प्रणालीसम्बन्धी अभ्यासबारे उनीसँग राससले गरेको कुराकानीको सम्पादित अंश:
संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्ने अवसर र प्रक्रियाबारे कसरी जुर्यो ?
मुलुकमा ७० वर्षअघिदेखि संविधानसभाद्वारा संविधान जारी गर्नुपर्छ भन्ने प्रसंग उठेको थियो। २०६२र६३ को संयुक्त जनआन्दोलन उत्कर्षमा पुगेसँगै जनताको त्यो चाहना र भावनाले मूर्तता प्राप्त गर्यो। संविधानसभाको दुई पटक निर्वाचन भई संविधान जारी भयो। जनताको यसअघि कहिल्यै नभएको पर्याप्त दबाबले मूर्तता प्राप्त गर्न सफल भएको हो।
संविधानसभाबाट समयमा संविधान बन्नुपर्छ भनेर निरन्तर लागेकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको समाजवाद उन्मुख संविधान प्राप्त भयो। यो जनताले आफ्ना लागि बनाएको संविधान हो। यसअघि जारी संविधानका स्रोत शासक थिए। यो त्यस्तो संविधान हो जसको अधिकारको स्रोत जनता हुन्। त्यसैले संविधानको प्रस्तावनामै सार्वभौम सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक संस्था संविधानसभाले यो संविधान बनाएर जारी गरेका छौं भनेर घोषणा गरिएको हो।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशपछि पनि भइरहेका अभ्यासप्रति अनेक टिक्का टिप्पणी सुनिएको छ, यसप्रति तपाईंको धारणा के छ?
नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त संविधान र हाल अभ्यासमा रहेको शासन व्यवस्थाको कुनै विकल्प छैन। जनताको यो तहबाट संविधान बन्ने जुन यथार्थ छ, यो भन्दामाथि अब यो देशमा अर्को संविधान बनाउने कुनै पनि ठाउँ छैन। अब फेरि पनि अर्को परिवर्तनका कुरा गर्नुको कुनै अर्थ छैन। यही संविधानअर्न्तगत रही जुनसुकै परिवर्तन गर्दै अघि बढन सकिन्छ।
मुलुक संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि डेढ दशकमा भएका अभ्यास र उपलब्धिलाई कसरी हेर्नुभएको छ?
अहिले हामीले अभ्यास गरेको संविधान जनताले–जनताका लागि बनाएको संविधान हो। जसको अधिकारको स्रोत नेपाली जनता हुन्। जसले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख देशलाई प्रदान गर्यो। यो संविधान अन्तर्गत सही प्राप्त उपलब्धि कार्यान्वयन गर्दै लैजानुपर्छ। राज्यका सबै अंगमा ३३ प्रतिशत महिलाको सहभागिताको व्यवस्था गरेका छौं। समावेशी समाजको कल्पना गरेका छौं।
यसबीचमा नेपाल र नेपाली जनताको हितका लागि थुप्रै काम हामीले सम्पन्न गरेका छौं। राजनीतिक रुपमा यति धेरै परिवर्तन गरेका छौं। जनतलाई पहिलो पटक सार्वभौम सम्पन्न तुल्याएका छौं। जनता यति अधिकार सम्पन्न भएका छन् कि जनताको आर्शिवाद र समर्थन जितेर संसदमा पुग्नुस् जुनसुकै परिर्तन गर्न सकिन्छ। जहाँसम्म आफ्ना प्रतिनिधिका कुरा छ, व्यक्ति र दल मन परेन भने परिवर्तन र छान्न सकिन्छ। त्यसका लागि निर्वाचन र संसदमार्फत जुनसुकै परिवर्तन गर्न सकिन्छ। परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन।
राजनीतिक दलहरुले विगतको सशस्त्र द्वन्दको घाउलाई सम्बोधन गर्ने शान्ति प्रकृयालाई निकै लामो समयसम्म टुंगोमा पुर्याउन सकेन भन्ने आरोप छ नि?
हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेका छौं। शान्ति प्रकृयाका बाँकी काम लगभग टुङ्गोमा पुर्याएका छौं। सेना समायोजन गरेर एउटा ठूलो सफलता प्राप्त गरेका छौं। त्यही प्रकृयाको सन्दर्भमा यति राम्रो संविधान बनाउन सफल भएका हौं। अब शान्ति प्रकृयासँग सम्बन्धित थोरै काम मात्रै बाँकी छ। जुन अब दुई–तीन वर्षभित्र सम्पन्न गर्ने गरी हामी काम अघि बढाइरहेका छौं। यो शान्ति प्रकृयासँग सम्वन्धित जे काम गरिएको छ, विश्वकै शान्ति प्रकृयाका उदाहरणीय छ। म भरखरै कोलम्बिया पुगेर आएँ, त्यहाँको समेत अनुभव हेर्दा दाबीका साथ भन्न सकिन्छ कि नेपालको शान्ति प्रकृयाको जुन प्रसंग छ, त्यो हाम्रो मोडेल हो, विश्वमै उत्कृष्ट छ।
मुलुकका प्रमुख राजनीतिक शक्तिले समयमै पूरा गर्न पर्ने समाजका जल्दाबल्दा विषयमा पनि त्यति ध्यान पुर्याएनन् भन्ने आरोप छ नि?
हो, जनताको चाहना र भावना अनुरुप कतिपय महत्वपूर्ण काम भने अझै पनि गर्न सकेका छैनौं। त्यसतर्फ केही कमी कमजोरी रहेकै हुन्। देशमा ठूलो राजनीतिक परिवर्तनका साथ केही महत्वपूर्ण उपलब्धि हासिल भएकोछ। तर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भने कमी कमजोरी रहन गए। म प्रष्ट र ढुक्कसँग भन्न सक्छु कि समाजमा विद्यमान त्यस्ता कमी कमजोरीलाई सच्चाएर अब हामी अघि बढनुपर्छ।
देश गणतन्त्रको अभ्यासमा छ, देशको आर्थिक संकटसँग जोडेर संघीयता खर्चिलो भयो भन्ने पाटोबाट कुरा उठाइएको छ, यसमा यहाँको धारणा के?
हामीले स्थापना गरेको लोकतन्त्र भनेको समाजमा व्यक्ति भएका सबैखाले विचार सन्न सक्ने सुन्दर पक्ष हो। समाजमा आउने सबै विचारका बारेमा छलफल हुन्छ। छलफल हुनु राम्रो कुरा हो। विगतमा हामी कुन व्यवस्थाबाट गुज्रदै यहाँ आइपुगियो भन्ने हामीलाई राम्ररी थाहा छ। समाजमा विकृति र विसङ्गति छन्, त्यसलाई सच्याऔं, सुधारौंभन्दा जेलनेल भोग्नु परेका हामी धेरै ज्यूँदैछौं। प्रधानमन्त्री भारतमा जाँदा त्यहा बोलेका कुराका लागि काठमाडौंमा पर्चा छर्दा राजकाज मुद्धा लागेर सात महिना कैद सजाय भोग्ने मानिस मै हुँ।
अहिले हामीले त्यो प्रणाली परिवर्तन गरियो। पूर्ण लोकतन्त्रको आधार तयार गरिएको छ। अहिले यस्तो हुनुपर्छ भनेर आएको विषयलाई अचम्म मान्न हुन्न। त्यो छलफल र आएका विचार स्वस्थ्य र स्वच्छ भने हुनुपर्छ। त्यसले एउटा निष्कर्षमा पुर्याउँछ। सविधान बनाउने क्रममा सबैभन्दा बढी संघीयताको विषयमा छलफल भएको हो। सङ्घीयता निर्विवाद होइन। व्यापक छलफलपछि टुङ्गोमा पुगिएको हो। त्यसैले छलफल हुनुलाई अन्यथा मान्न हुन्न। छलफल चल्छ। एउटा लोकतान्त्रिक विधि र प्रकृयाबाट टुंगोमा पुग्न पर्छ।
पूर्वराजालाई नागरिकले अभिनन्दनको घटनालाई कसरी हेर्नुभएको छ?
एकदमै सामान्य टिप्पणी गर्न नपर्ने विषयका रुपमा लिन्छु। पूर्वराजालाई एउटा नागरिकको हैसियतले सम्मान नै गर्छु। उहाँले बोल्न सक्नुहुन्छ। शान्तिपूर्ण ढङ्गले हिड्न सक्नुहुन्छ। संविधानबमोजिमका क्रियाकलाप त लोकतन्त्रको सुन्दर पक्ष नै हो। हामी निरंकुश परिस्थितिबाट अहिले फरक ठाँउमा आइसकेका छौं। अहिले शान्तिपूर्ण ढंगले गणतन्त्र चाहिन्न पनि भन्न पाइन्छ। तर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौं। कार्यान्वयन गर्दै यहाँ आइपुगेका छौं। कार्यान्वयन गर्ने सन्दर्भमा पटकपटक निर्वाचनमा गएका छौं। सबैखाले विचार बोकेका दल निर्वाचनमा गएका र प्राप्त परिणामलाई स्वभाविक रुपले लिइएको छ।
हिजोमात्र हामीले १६औं गणतन्त्र दिवस मनायौं, यस अवसरमा आम जनसमुदायलाई यहाँको केही सुझाव वा सन्देश छ कि?
वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर हामीले अघि बढनुपर्छ। पुराना दलप्रति विभिन्न प्रश्न उठेका छन्। अहिलेको अवसर हाम्रा लागि अवसर हो। उठेका विषयलाई हामीले हेर्नुपर्छ, गम्भीरतापूर्वक लिनुपर्छ। गरिएका राम्रा विषय जनतामा लैजानुपर्छ। देखिएका कमी कमजोरीलाई हार्दिकतापूर्वक स्वीकार्न पर्छ। त्यसलाई सच्याउँदै अघि बढने प्रतिबद्धता व्यक्त गरेर व्यवहारमा उतार्दै अघि बढनुपर्छ। लोकतन्त्रमा यो हाम्रा लागि अवसर हो। अवसरलाई सदुपयोग गरियो, कमी कमजोरीलाई समयमै सच्याएमा अघि बढने प्रशस्त आधार हुन्छ। लोकतन्त्रमा व्यक्ति र दल परिवर्तन गर्न सकिन्छ। यो हामी र सवैका लागि राम्रो अवसर हो।