प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न माग
भुटान स्वतन्त्र जनमञ्चले भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री दाहाललाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो।
झापा, जेठ १६ : प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गरिदिन भुटानी शरणार्थीले माग गरेका छन्।
भुटान स्वतन्त्र जनमञ्चले भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री दाहाललाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो।
मञ्चले भारतसँग छलफल गरी भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल र भुटान सरकारबीच वार्ता–छलफलको वातावरण बनाउन आग्रह गरेको छ।
भुटानी शरणार्थीहरु ३० वर्षदेखि पूर्वी नेपालको झापा र मोरङका शिविरमा छन्। एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अष्ट्रेलियालगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रमअन्तर्गत गएका छन् ।
झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी बसोबासर गरिरहेका छन्।
मञ्चले भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्प अगाडि बढाउनका लागि आवश्यक वार्ता, छलफल, नीति निर्णय र निर्देशनजस्ता ठोस पहल गरिदिन समेत आग्रह गरेको छ ।











