संसदमा भारत भ्रमणको जानकारी दिँदै प्रधानमन्त्रीले भने– विद्युत निर्यातको आधार तयार हुन्छ
‘जलविद्युत निर्यातको आधार सुनिश्चित गर्नु प्राथमिकताको विषय हुनेछ, बंगलादेशमा विजुली निर्यातको विषयमा यसपटक कुराकानी हुनेछ।’
काठमाडौं, जेठ १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका विषयमा संसदलाई जनकारी गराएका छन्। सोमबार साँझ बसकेको संसद बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा जलविद्युत निर्यातको आधार तयार गर्ने बताए।
प्रधानमन्त्री दहालले उर्जा क्षेत्र सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताएका छन्। उनले भने, ‘जलविद्युत निर्यातको आधार सुनिश्चित गर्नु प्राथमिकताको विषय हुनेछ, बंगलादेशमा विजुली निर्यातको विषयमा यसपटक कुराकानी हुनेछ।’
चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे कुरा हुने जनाए। नेपाल भारत सहकार्यका लागि जलविद्युत महत्वपूर्ण विषय हो भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हित सुनिश्चित हुने गरी भारतीय लगानी भित्र्याउने विषयमा पनि छलफल हुने संसदलाई जानकारी दिए।
उनले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि लामो समयदेखि प्रगति हुन नसकेको भन्दै उनले महाकालीको पानी समान र साझा रुपमा वितरण हुने गरी पञ्चेश्वरबारे छलफल गरिने उल्लेख गरे।
नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेट हुने पनि जानकारी दिए । चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोरमैला व्यवस्थापनबारे अवलोकन गर्नेछन् । उनले उज्जैन पनि जाने जानकारी दिए।
त्यस्तै सीमा समस्यालगायतका कतिपय विषय सम्बोधनका लागि विश्वासको वातावरण बनाउने पनि उनले बताए ।











