काठमाडौंमा सार्वजनिक शौचालय बनाउन तीन करोड विनियोजन
काठमाडौं, माघ २० : काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मान्छेको अत्यधिक भीड हुने स्थानलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी....

काठमाडौं, माघ २० : काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मान्छेको अत्यधिक भीड हुने स्थानलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ। यसका लागि तीन करोड विनियोजन गरेको छ।
शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्न, पहुँच बढाउन, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेस्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने तयारी भइरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
महानगरले योजना आयोग गठन गरेर काम अघि बढाएको उनले बताए। ‘काठमाडौं महानगरपालिकाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको छ,’ प्रवक्ता डंगोलले भने, ‘हालसम्म निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्रै सिमित छ।’
महानगरसँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ। पाँच वर्षदेखि चर्चा चलिरहेको भएपनि निर्माण हुनसकेको छैन। ‘निर्माणको लागि शहरी योजना आयोगसहित विभिन्न संघ संस्थाले गरेको अध्ययन अनुसार उपत्यकामा मानिसको सख्याको आधारमा सार्वजनिक शौचालय अत्यन्तै न्यून छ,’ उनले भने, ‘अब निर्माणको काम सुरू गर्छौं।’
शौचालय निर्माणको लागि महानगरसँग जग्गाको कमि भएपनि विभिन्न सरकारी तथा संस्थानका जग्गा भाडा वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गरिने उनले बताए। नेपाल आयल निगम, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्ने तयारी भइरहेको उनले बताए।
अहिले काठमाडौंमा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन्। तिमध्ये २८ शौचालय मात्रै प्रयोगमा छन्। प्रयोगमा भएका शौचालयमा पनि सरसफाईको अभाव छ।
अहिले टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजू, माछापोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जय बागेश्वरी, गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे, बल्खु र कुलेश्वरमा सार्वजनिक शौचालय आवश्यक देखिएको छ।











-(32)-1764944804.jpeg)
