गणतन्त्र दिवस समारोहमा किन सहभागी भएनन् बालेन?
गणतन्त्र दिवस समारोहमा हरेक वर्ष मेयर सहभागी हुँदै आए पनि यसपटक सहभागी भएनन्। गणतन्त्र दिवसको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहने व्यवस्था छ।
काठमाडौं, जेठ १५ : १६औं गणतन्त्र दिवसका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) उपस्थिति भएनन्।
गणतन्त्र दिवस समारोहमा हरेक वर्ष मेयर सहभागी हुँदै आए पनि यसपटक सहभागी भएनन्। गणतन्त्र दिवसको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहने व्यवस्था छ।
मेयर बालेनका स्वकीय सचिवालयका अनुसार पारिवारिक कारणले समारोहमा सहभागी हुन नसकेका हुन्। मेयर पत्नी गर्भवती रहेको र अस्पतालमै राखिएकाले कार्यक्रममा सहभागी हुन नसकेको जनाइएको छ। काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आए पनि बालेनसँगै उपमेयर सुनीता डंगोल पनि कार्यक्रममा सहभागी भइनन्। समारोहमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन भने सहभागी भएका थिए।
विगतका गणतन्त्र दिवस समारोहमा काठमाडौं महानगरको विशेष भूमिका रहने गरे पनि यसपटक सो भूमिकाबाट पन्छिएको बताइएको छ। समारोहका लागि स्टेज निर्माण र व्यवस्थापनको जिम्मा महानगरले लिन्थ्यो। संघीय सरकारले मनाउने कार्यक्रम भएकाले महानगर पछि हटेको स्रोतको भनाइ छ।
बालेन उपत्यकाबाहिर रहेकाले कार्यक्रममा उपस्थिति जनाउन नसकेको हल्ला पनि चलिरहेको छ। उपमेयर डंगोल महानगरको बजेट निर्माणको चटारोले सहभागी नभएको दाबी गरिएको छ। समारोहका लागि निम्ता भने दुवैलाई गरेको बुझिएको छ।











