प्रधानन्यायाधीश नियुक्तका लागि कार्कीको संसदीय सुनुवाइ प्रक्रिया मंगलबारबाट
संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा हाल कामु रहेका कार्कीको नाम सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्यान्वयन प्रक्रिया अघि बड्न सकेको थिएन।
काठमाडौं, जेठ १५ : आइतबार गठन भएको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ प्रक्रिया भोलि (मंगलबार) बाट अगाडि बढाउने भएको छ। त्यसका लागि समितिको बैठक भोलि बिहान ८ बजेका लागि डाकिएको छ ।
संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा हाल कामु रहेका कार्कीको नाम सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्यान्वयन प्रक्रिया अघि बड्न सकेको थिएन।
महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनकै अवस्थामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत मंसिरमा अवकाश पाएका थिए। त्यसयता सर्वोच्च अदालत प्रधान्यायाधीशविहीन छ। सरकारको सिफरिसमा परेको र संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको अवस्थामा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ ।
समितिमा कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन्। एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लीलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन्।











