Kathmandu Press

अधिकार संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक : सञ्चारमन्त्री शर्मा

गणतन्त्र दिवसको उपलक्ष्यमा आमनागरिकलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले जनताको सर्वोच्चता कायम गर्ने गणतन्त्रलाई अझ सुदृढ र  संस्थागत तुल्याउनुपर्ने धारणा व्यक्त गरिन्।
अधिकार संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक : सञ्चारमन्त्री शर्मा

काठमाडाैं, जेठ १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राप्त हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको बताएकी छन्। 

गणतन्त्र दिवसको उपलक्ष्यमा आम नागरिकलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले जनताको सर्वोच्चता कायम गर्ने गणतन्त्रलाई अझ सुदृढ र  संस्थागत तुल्याउनुपर्ने धारणा व्यक्त गरिन्।

उनले गणतन्त्रका कारण राजनीतिक, सामाजिक, सांस्कृतिकरूपमा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित तथा पिछडा वर्ग, अल्पसङ्ख्यक, सिमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका सबै नेपाली नागरिकले विशिष्ट अधिकार प्राप्त गर्न सफल भएको बताइन्। 

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुरु गरेको सुशासन र सहज सेवा प्रवाहको अभियानबाट विस्तारै नतिजा प्राप्त हुन थालेको उल्लेख गर्दै सञ्चारमन्त्री शर्माले शुभकामना सन्देशमार्फत भ्रष्टाचारविरुद्ध सरकारले आफ्नो दृढता प्रस्तुत गरिरहेको बताइन्। विभिन्न सेवा प्रवाहका क्षेत्रलाई जनतामैत्री बनाउँदै लगेको, सडक, सदन तथा सञ्चारमाध्यममार्फत सार्वजनिक हुने समस्या तत्काल सम्बोधन गर्ने गरी सरकार अघि बढेको र सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको प्राथमिकतामा रहेकाले यस्ता काम अझै प्रभावकारीरूपमा अघि बढ्दै जाने उनको भनाइ छ । 

तमाम् बेथितिको अन्त्य गर्दै थालिने यस प्रकारका अभियानबाट राज्यप्रति जनताको विश्वास वृद्धि भई नयाँ आशाको सञ्चार हुने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री शर्माले हामी जो जहाँ छौँ देश र जनताको पक्षमा इमान्दार भएर लागौँ भनी सबैसँग अनुरोध गरे। सम्पूर्ण नेपालीमा बधाईसहित शुभकामना व्यक्त गर्दै महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका तमाम आन्दोलनमा अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात, अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आमजनसमुदायप्रति उच्च सम्मान छ,' मन्त्री शर्माद्वारा गणतन्त्र दिवस, २०८० का अवसरमा जारी  शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्