Kathmandu Press

कामदार र उपकरण चीनमै रोकिए, गौतमबुद्ध र पोखरा विमानस्थल निर्माण कार्य प्रभावित

काठमाडौं, माघ २० : चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालका दुई ठूला राष्ट्रिय गौरवका आयोजना पनि प्रभावित भएका छन्। चिनियाँ कामदारसँगै उपकरण पनि चीनम....

कामदार र उपकरण चीनमै रोकिए, गौतमबुद्ध र पोखरा विमानस्थल निर्माण कार्य प्रभावित
फाइल फाेटाे

काठमाडौं, माघ २० : चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालका दुई ठूला राष्ट्रिय गौरवका आयोजना पनि प्रभावित भएका छन्। चिनियाँ कामदारसँगै उपकरण पनि चीनमा रोकिएपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित भएको हो।

नयाँ वर्ष मनाउन चिनियाँ कामदार स्वदेश फर्किएका थिए। तर, कोरोना भाइरसका कारण चीनमै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

क्यानका निर्देशक एवं राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीका अनुसार भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकमा कार्यरत चिनियाँ कामदार उतै रोकिएका छन्। ‘दुवै विमानस्थलमा कार्यरत चिनियाँ कामदाहरु समयमै नफर्किए निर्माणमा समस्या आउनसक्छ,’ उनले भने।

Hardik ivf

यस्तै, निर्माण अन्तिम चरणमा पुगेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्ने मुख्य उपकरण पनि चीनमै रोकिएको छ। चिनियाँ नयाँ वर्ष मनाएर मुख्य उपकरण ल्याउने तयारी गरि आयोजनाका २२ प्राविधिक स्वदेश फर्किएका थिए। उनीहरू उतै रोकिएपछि उपचकरण पनि ल्याउन नसकिएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख अधिकारीले चीनबाट धावनमार्गको लाइट, ब्यागेज ह्यान्डलिङ सिस्टमको कनवेयर लेल्ड चीनमा नै रोकिएको बताए। ‘विमानस्थलका लागि आवश्यक अन्य उपकरण निर्माणस्थलमा आइसकेको छ। तर, प्राविधिक नहुँदा आएका उपकरणसमेत जडान गर्न सकिएको छैन,’ अधिकारीले भने।

चिनियाँ प्राविधिक उतै रोकिएपछि उपकरण जडानमा पनि समस्या भएको छ। ‘स्थानीय रुपमा गर्ने अन्य कामहरु भइरहेको छ। उपकरण जडान नहुँदा निर्माणमा समस्या भएको छ,’ उनले भने।

उनका अनुसार चिनियाँ नर्थ वेस्ट एभियसन कम्पनीले निर्माण गरेको विमानस्थलको सिभिलतर्फको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

यसैगरी, पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणका लागि आवश्यक जनशक्ति चीनमै रोकिएको छ। विमानस्थलको धावनमार्ग र सडक निमार्णका लागि नयाँ ल्याउन लागिएका ६५ जना कामदाहरु भाइरसका कारण आउन सकेका छैनन्।

विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनाकर्मीका अनुसार नयाँ वर्ष मनाउन गएका २० जना चिनियाँ पनि उतै रोकिएका छन्। पुराना र नयाँ गरि ८५ जना कामदारहरु फर्कन पाएका छैनन्।

चीनवाट शनिबार मात्रै १० जना कामदाहरु निर्माण स्थलमा फर्किएका छन्। पोखरा फर्किएका उनीहरुलाई विमानस्थल परिसरमा छुट्टै आइसोलेसन वार्ड बनाएर राखिएको उनले बताए। ‘हामीले तीन÷तीन जनाको समूह बनाएर उनीहरुलाई छुट्टै राखेका छौँ। एक साता आइसोलेसन वार्डमा राखेर मात्रै काममा लगाउनेछौं,’ उनले भने। उनीहरु चीनमा १४ दिन आइसोलेसन वार्डमा बसेर फर्किएका हुन्।

५५ प्रतिशत निर्माण सम्पन्न भएको पोखरा विमानस्थल निर्माणमा दुई सय २० चिनियाँ कामदार र दुई सय ५० नेपाली कामदार कार्यरत छन्।

दुवै विमानस्थलसँगै मेलम्ची खानेपानी आयोजना, तामाकोसी जलविद्युत आयोजना, भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना, नेपाल टेलिकमको फोरजी र एलटीई सेवा विस्तार आयोजना, नारायणगढ–बुटवल सडकखण्ड निर्माणलगायत ठूला आयोजना पनि प्रभावित भएका छन्।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्