Kathmandu Press

राजनीति व्यवसाय हैन्, विशुद्ध समाजसेवा हो : राष्ट्रपति पौडेल 

उनले श्रमशक्ति पलायन हुन रोक्नका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नपर्ने बताएका छन् ।  “मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर हो । 
राजनीति व्यवसाय हैन्, विशुद्ध समाजसेवा हो : राष्ट्रपति पौडेल 

काठमाडौं, जेठ १५ : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति व्यवसायजस्तो नभई विशुद्ध समाजसेवा भएको बताएका छन् । राष्ट्रपति पौडेलले १६औँ गणतन्त्र दिवसका शुभकामना व्यक्त गर्दै राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेसा, व्यवसायजस्तो होइन यो त विशुद्ध समाजसेवा हो भन्ने भावना हामी सबैमा जागृत नभएसम्म राजनीतिक नेतृत्वमा पनि गलत प्रवृत्ति र प्रभाव रहिरहने बताएका हुन् । 

उनले शुभकामना सन्देशमार्फत राजनीति देश र जनताप्रति समर्पित हुने सेवाभाव हो भन्ने प्रमाणित गर्ने गरी आफ्ना आचरणहरू परिवर्तन गर्न तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था तथा बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक प्रणालीको माध्यमद्वारा राष्ट्रियता र राष्ट्रिय एकता प्रवर्द्धन गर्न आह्वान समेत गरेका छन् । 

उनले श्रमशक्ति पलायन हुन रोक्नका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नपर्ने बताएका छन् ।  “मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर हो । 

सक्षम युवा विदेसिँदा देशलाई चाहिने जनशक्तिको अभावबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का समयमै राखेर उनीहरूलाई स्वदेश फर्कने वातावरण तयार गर्न ‘गाउँबाट विचलित भइरहेको मनलाई गाउँमा नै सेवा सुविधा पुर्‍याएर गाउँमा नै बसौँ–बसौँ बनाउने’ वातावरण तयार गर्न आवश्यक छ”, शुभकामना सन्देशमा उनले भनेका छन्, “श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी उत्पादन, रोजगार र उद्योगधन्दासहितको अवस्था सृजना गर्ने विकास प्रयासको थालनी आजको सबैभन्दा ठूलो आवश्यकता हो । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतालाई नीति निर्माण तह र नेतृत्वमा बसेका सबैले जीवनशैली र संस्कारका रूपमा व्यवहारतः अपनाउनुपर्ने खाँचो छ ।”

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन् । जनताको अधिकारका लागि एउटै पुस्ताले तीन÷तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको शुभकामना सन्देशमा उल्लेख छ । 

“जनताको हातमा अधिकार पुगेको छ । देश ग्रामीण विकासको बाटोमा अग्रसर छ । वडा तहदेखिकै हजारौँ जनप्रतिनिधिमार्फत राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित भइरहेको छ । समावेशी व्यवस्था कायम भएको छ । केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्‍याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन”, शुभकामना सन्देशमा भनिएको छ । 

प्रकाशित मिति: ०६:४८ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्