Kathmandu Press

गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव : अध्यक्ष ओली

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताए । 
गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव : अध्यक्ष ओली

काठमाडौं, जेठ १५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउएका छन् । 

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताए । 

“गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस”, उनले जारी गरेको सन्देशमा भनिएको छ । 

उनले हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको गणतन्त्र प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने बताए। अध्यक्ष ओलीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उल्लेख गर्दै जनता वास्तविक अर्थमा सार्वभौम बनेको यस दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको बताएका छन् । 

अध्यक्ष ओलीले गणतन्त्र नेपाली जनताको बलिदान र सङ्घर्षको सफलताको दिवस भएको भन्दै गणतन्त्र स्थापनापछिका त्रुटि भएका र तिनलाई सच्याउनुपर्ने बताए ।  अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्रमार्फत राज्य स्रोतमाथिको हालीमुहाली गुमेकाबाट ‘लोकतान्त्रिक व्यवस्थामा वेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्ने जस्ता मिथ्या प्रचार सुरु गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्