संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
आइतबार बसेको संघीय संसदको बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।
काठमाडाैं, जेठ १४ : संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ।
आइतबार बसेको संघीय संसदको बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।
संघीय संसदको संयुक्त बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो। छलफलका क्रममा सांसदहरुले साना र स्वतन्त्र दलहरुलाई निषेध नगर्ने गरि नियमावली आउनुपर्ने बताएका थिए।
त्यस्तै उनीहरुले सङ्घीयता कार्यान्वयनको प्रभावकारीता देखिने गरी संसद्का क्रियाकलाप सञ्चालन गरिनुपर्ने धारणा राखेका थिए। सांसदहरुको प्रश्नको जवाफ दिदै मस्यौदा समितिका सभापति प्रधानले युवा सांसदहरुको सोचलाई पनि समावेश गरेर मस्यौदा बनाएको र यसअघि भएका सहमतिहरुलाई बिशेष कारणबस समावेश गर्न नसकिएको बताए।
दफाबार छलफलका क्रममा संशोधन प्रस्ताव गर्नुभएका सांसदहरु खिमलाल देवकोटा, जितेन्द्र नारायण देवले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो भने अमरेशकुमार सिंह, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा विमला राई पौड्यालले आफ्नो संशोधन फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो।











