
विराटनगर, जेठ १४ : पहिचान पक्षधरहरूले कोसी प्रदेश नामकरणविरुद्ध गरिरहेकाे आन्दोलनका क्रममा आज विराटनगरको देवकोटा चोकमा भएको प्रदर्शनमा झडप भएको छ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि त्यहाँको स्थिति तनावग्रस्त बन्न पुगेको छ। प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि रोक्ने क्रममा झडप भएको थियो।
प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरी पनि उनीहरूमाथि जाइ लागेको थियो। भिड तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको जनाइउको छ।
निषेधित क्षेत्र तोडेको आरोपमा ४५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ।
प्रदेशसभाबाट कोसीप्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ।
आज दिउँसो २ बजे प्रदेशसभाको बैठक बस्ने भएकाले आन्दोलनकारीहरू विराटनगरमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
आदिवासी जनजाति आयोगले विराटनगरमा प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनमा बल प्रयोग गर्नु लोकतन्त्रकै उपहास भएको बताएको छ।






