संघीय संसदको संयुक्त बैठक र कार्यसञ्चालन नियमावली पारित
संघीय संसदको आइतबार बसेको संयुक्त बैठकले बहुमतका आधारमा नियमावली पारित गरेको हो।
काठमाडौं, जेठ १४ : संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ।
संघीय संसदको आइतबार बसेको संयुक्त बैठकले बहुमतका आधारमा नियमावली पारित गरेको हो।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। संयुक्त सदनबाट नियमावली पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत भएकोमा बहुमतले पारित भएको घोषणा सभामुखले गरेका थिए।
संघीय संसदको संयुक्त बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो।
दफाबार छलफलका क्रममा संशोधन प्रस्ताव गरेका खिमलाल देवकोटा, जितेन्द्र नारायण देवले संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने अमरेशकुमार सिंह, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा. विमला राई पौड्यालले आफ्नो संशोधन फिर्ता लिएका थिएनन्।











