संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो।
काठमाडाैं, जेठ १४ : ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो ।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेस गरेका छन्। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदा माथिको छलफल सुरु भएको हो।
सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो।
नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधि सभाबाट १६ जना सदस्य रहेका थिए। त्यस्तै जेठ ५ गतेको राष्ट्रियसभाको बैठकले तीनजना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो।
संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो।