संसदको रेकर्डबाट सांसदको अभिव्यक्ति हटाउनु विडम्बना : शेखर काेइराला
सुनको जलहरीबारे संसदमा माओवादी केन्द्रका एक सांसदले दिएको अभिव्यक्तिलाई सभामुखको निर्देशनअनुसार संसद सचिवालयले हटाएको विषयलाई संकेत गर्दै उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत त्यस्तो अभिव्यक्ति दिएका हुन्।
काठमाडाैं, जेठ १४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दलका शीर्ष नेता बसेर संसदको रेकर्डबाट सांसदको अभिव्यक्ति हटाउने सहमति गर्नु र संसद सचिवालयले पनि सोहीअनुरुप कार्य गर्नु विडम्बना भएको प्रतिक्रिया दिएका छन्।
सुनको जलहरीबारे संसदमा माओवादी केन्द्रका एक सांसदले दिएको अभिव्यक्तिलाई सभामुखको निर्देशनअनुसार संसद सचिवालयले हटाएको विषयलाई संकेत गर्दै उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत त्यस्तो अभिव्यक्ति दिएका हुन्।
‘कस्तो विडम्बना! संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमिततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोहीअनुरुप कार्य गर्नेल’ उनले फेसबुकमा लेखेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?’
यस्तो तरिकाबाट संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने अवस्था सिर्जना भएको आशय पनि उनले व्यक्त गरेका छन्। संसद् सचिवालयबाट रेकर्ड हटाए पनि जनता, नागरिक समाज र सञ्चार जगत् पनि रहेको भनी हेक्का राख्नुपर्ने सुझाव उनले दिएका छन्।
‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं? के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो?’ उनले लेखेका छन्, ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन भन्ने कुरा बुझौं।’
जेठ १० गतेकाे प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको पालामा पशुपतिको मन्दिरमा राखिएको जहलरी सुनको राख्नुपर्नेमा पित्तलको राखेर भ्रष्टाचार भएको र स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब रूपैयाँ अनियमितता गरिएको आरोप लगाउँदै दिएको अभिव्यक्ति संसद सचिवालयको अभिलेखबाट शनिबार हटाइएको थियाे।











