Kathmandu Press

‘राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ’

‘कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ’, उनले भने, ‘देशका अगाडि जे–जस्ता समस्या र चुनौती छन्, ती समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यक छ।’
‘राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ’

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक संकट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यकता र चाहना सम्बोधन गर्ने दृष्टिकोणबाट सबै दल एक ठाउँमा उभिन आवश्यक रहेको बताए।

‘कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ’, उनले भने, ‘देशका अगाडि जे–जस्ता समस्या र चुनौती छन्, ती समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यक छ।’

प्रधानमन्त्री दाहालले देशका अगाडि विद्यमान समस्या, भ्रष्टाचार र बेथिति, विसंगतिविरुद्धको लडाइँ सबै मिलेरमात्रै जित्न सकिने बताए। मुलुकमा देखिएका तमाम बेथितिमा सरकारको ध्यान गएको उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयलाई पनि सरकारले गम्भीरताका साथ लिएको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘राजस्वलगायत अन्य क्षेत्रमा देखिएका बेथितिमाथि सरकारको ध्यान छ, कदम–कदम गरेर ती सबै सच्याउनुपर्छ, त्यसका निम्ति सबै राजनीतिक दल र सदनको सहयोगको आवश्यक छ।’

तेस्रो कार्यकाललाई आफूले चुनौती र अवसरका रूपमा लिएको जनाउँदै उहाँले जनताको संघर्षबाट प्राप्त परिवर्तन नै धरासायी हुने छटपटीको अन्त्य गर्न आत्मसमीक्षा गर्न जरुरी रहेको बताए।

‘आफैंलाई ‘करेक्सन’ नगरी जनतामा पैदा भएको मनस्थितिलाई बदल्न सकिँदैन, मैले आफूलाई ठूलो अग्नि परीक्षामा रहेको महसुस गरेको छु, सम्पूर्णरूपमा सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आफूलाई समर्पित गर्ने संकल्प लिएको छु,’ उनले भने।

प्रधानमन्त्री दाहालले समृद्धिको अभियानको थालनीमा सबैको सहयोग आवश्यक रहेको बताए। अहिले सरकार र जनता एक ठाउँमा जोडिन थालेको आफूलाई अनुभूति भएको उल्लेख गर्दै उनले सरकारले चाल्न थालेका कदम र जनताको भावनामा सम्बन्ध जोडिँदै गएको बताए।

उनले संसद् देश र जनताको सर्वोत्तम हित र सरोकारका विषयमा रचनात्मक छलफल गरी सकारात्मक उपाय पहिल्याउने थलो भएको बताए। लोकतान्त्रिक अभ्यासलाई थप परिष्कृत बनाउँदै लोकतन्त्रलाई अझ उन्नत र सुसंस्कृत बनाउने दिशामा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उनको भनाइ थियो।

 

प्रकाशित मिति: २०:१३ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्