‘नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको आधारमै ल्याइएको हो’
शनिबारको संसद बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यो नीति तथा कार्यक्रम आफ्नो नेतृत्वमा बनेका दुवै गठबन्धनको न्यूनताम साझा कार्यक्रमकै आधारमा तयार भएको बताए।
काठमाडौं, जेठ १३ : प्रधानमन्त्री पुष्कमल दाहालले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको आधारमै ल्याइएको बताएका छन्। शनिबारको संसद बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यो नीति तथा कार्यक्रम आफ्नो नेतृत्वमा बनेका दुवै गठबन्धनको न्यूनताम साझा कार्यक्रमकै आधारमा तयार भएको बताए।
‘प्रमुख प्रतिपक्ष दलको नेतालाई पनि सम्झना छ, मैले त्यो प्रस्ताव पहिलो गठबन्धनको साझा न्यूनतम कार्यक्रममा आधारित भएर बोलेर तल झर्दा हिस्टोरिक एन्ड एक्सिलेन्ट भन्नुभएको थियो, म ऊर्जावान् भएको थिएँ,’ उनले भने, ‘केही समयपछि दोस्रो गठबन्धन बन्यो । अर्को साझा न्यूनतम कार्यक्रम बनाइयो । पहिलो साझा न्यूनतम कार्यक्रमको राम्रो कुरा समावेश गरेर बनाउनुपर्छ भनेर हामीले बनाइयो। त्यसकारण यो नीति कार्यक्रम दुवै गठबन्धनको साझा न्यूनतम कार्यक्रमको हो भन्न चाहन्छु ।’
एमालेसहितको तत्कालीन गठबन्धनबाट आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै प्रधानमन्त्रीमा एमालेको लगानी छ भनेर किन नमान्ने भन्दै उनले प्रश्न गरे। उनले भने, ‘म प्रधानमन्त्री पहिलो गठबन्धनले बनेको हो। यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ भनेर किन नमान्ने ? पोजेटिभ हिसाबले किन नहेर्ने ? नेतृत्वको हिसाबले सामूहिक लगानीमा बनेको किन नभन्ने ?’
‘तीनवटा विचारहरु यहाँ प्रस्तुत भएका छन्, आलोचनात्मक कुरा राख्नुभएको छ। यो नीति तथा कार्यक्रममले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गर्दैन भन्ने कोणबाट आएको छ। परम्परको सिकार भएको छ पनि भन्नु भएको छ। राजतन्त्र हुँदा राजाको मुखबाट पढाइन्थ्यो, अहिले राष्ट्रपतिबाट पढाइन्छ, त्यो परम्परागत हुन्छ भन्नेमा म सहमत हुन्छु,’ उनले भने।











