नीति कार्यक्रम निबन्धवाचन प्रतियोगिता होइन : कांग्रेस प्रमुख सचेतक लेखक
‘भाषिक शैली र प्रस्तुतीमा भिन्नता भए पनि आधारभूत कुराहरू प्रायजसो उस्तै हुन्छन्। यसको शैली र प्रस्तुतीलाई मात्रै हेरेर विरोध वा समर्थन गर्नुको सट्टा कार्यन्वयनको पाटो हेर्नुपर्छ।’
काठमाडौं, जेठ १३ : नपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रम निबन्धवाचन प्रतियोगिता नभएको बताएका छन् । शनिबारको संसदको बैठकमा बोल्दै उनले यसलाई यथार्थमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
उनले देश झिलिमिलि र विपक्षीमा हुँदा अन्धकारमय देखिने गरेको बताए । उनले सांसदका पुराना मानसिकता र मनस्थितिबाट मुक्त नभएसम्म कार्यक्रमहरू कार्यान्वयन नहुने बताए।
उनले विपक्षी दलका सांसदहरूप्रति लक्षित गर्दै यो नीति तथा कार्यक्रमको ठाडो विरोध नजनाउन पनि आग्रह गरे। ‘सभामुखज्यूको दायाँतर्फ बस्दा नीति तथा कार्यक्रम झिलिमिली देख्ने, बायाँतर्फ बस्दा अँध्यारो मात्रै देखिन्छ। तर यसरी हेर्नु समस्या हो। मैले धेरै नीति तथा कार्यक्रम देखें र भोगें पनि,’ उनले भने, ‘भाषिक शैली र प्रस्तुतीमा भिन्नता भए पनि आधारभूत कुराहरू प्रायजसो उस्तै हुन्छन्। यसको शैली र प्रस्तुतीलाई मात्रै हेरेर विरोध वा समर्थन गर्नुको सट्टा कार्यन्वयनको पाटो हेर्नुपर्छ।’
लेखकले विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै नीति तथा कार्यक्रमको शैली र तरिकालाई मात्रै नहेरेर यसको मूल मर्म र कार्यान्वयन पाटोतर्फ ध्यान दिन आग्रह गरे।
लेखकले आफ्नो सरकारको नीति तथा कार्यक्रम राम्रो मात्रै देख्न र विपक्षी सरकारको नीति तथा कार्यक्रम नराम्रो मात्रै देख्न नहुने बताए। पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद लेखकले समीक्षात्मक टिप्पणी गरेका थिए । साथै कांग्रेसले यसलाई समर्थन गर्ने पनि जनाएका थिए।
लेखकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति पनि कटाक्ष गरेका थिए । उनले तत्कालीन सरकारले ल्याएको नीति तथा कार्यक्रमले ‘स्वर्गानुभूति’ गराएको तर यथार्थमा उपलब्धि नगरेको टिप्पणी गरेका थिए। उनले भने, ‘अमुक ३ वर्षको अवधिको व्याख्या गर्दा केही माननीय ज्यूहरूले उहाँले नै ब्रह्माण्ड सिर्जना गर्नुभएको हो भन्न मात्रै बाँकी राखेर प्रशंसा गर्नुहुन्छ।’
‘कतिपय नीति तथा कार्यक्रम पढ्दा स्वर्गानुभूति हुन्छ । मैले पनि पानीजहाजबाट कन्चनपुरबाट डँडेलधुरा हुँदै दार्चुला पुग्ने अनुभुति गरेँ । पानी जहाज चढेको स्वर्गानुभूति भयो। महाकाली नदीमा नर्वेजियन क्रुजको यात्राको अनुभूति र महाकालीमै जयसिंह धामीको तुइन चुँडिएर भएको मृत्युबीच कति भिन्नता छ ?,’ उनले भने।
पछिल्ला सरकारबाट बन्ने गरेका कार्यक्रमहरूमा धेरै परिवर्तन नहुने र कार्यान्वयनका समस्या हुने पनि उनले बताए।











