Kathmandu Press

महामन्त्री शर्माले ओलीलाई भने- शरणार्थी प्रकरणबारे फैसला सुनाउन हामी न्यायाधीश होइनौं

महामन्त्री शर्माले ओलीलाई भने- शरणार्थी प्रकरणबारे फैसला सुनाउन हामी न्यायाधीश होइनौं

काठमाडौं, जेठ १३ : कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधिसभा बैठकमा भएको छलफलमा सहभागी हुँदै शर्माले निर्दोषलाई फसाउन खोजिएको भन्ने ओलीको अभिव्यक्तिप्रति विमति जनाए। उनले आफूहरू कोही पनि फैसला सुनाउने न्यायाधीश नभएको पनि बताए।

‘प्रमुख विपक्षी दलको नेताले संसदमा सम्बोधन गर्दै दोषीलाई उम्काउँदैछ भन्नुभएकोमा राज्यले ध्यान देला नै। निर्दोष मान्छे फसाउन खोज्दैछ भन्नुभयो,’ उनले भने, ‘अन्यन्त्र हैन, यही रोष्ट्रममा उभिएर भन्नुभयो। प्रहरीले छानबिन गर्दै छ। हामी न्यायाधीश होइनौं। यसमा म विमति राख्न चाहन्छु। यो प्रकरणमा हामी कोही आवेगमा आउन जरुरी छैन।’ ओलीले सरकारको नीति तथा कार्यक्रममाथि रोस्ट्रमममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको बताएका थिए। 

शर्माले यो अहिले सरकारलाई साथ दिने र बधाई दिने बेला भएको हुँदा अनुसन्धान प्रभावित पार्ने गरी कोही बोल्न नहुनेमा जोड दिए। कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा खेपिरहेको भए पनि को निर्दोष को दोषी भनेर आफूहरुले नभनेको उनले स्पष्ट पारे। उनले भ्रष्टाचारको फाइल खोलेको बेला बधाई दिने समय भएको उल्लेख गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने समय नभएको बताए। 

उनले २००७ सालदेखिकै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए। कसैप्रति लक्षित नभई निष्पक्ष ढंगले फाइल खोल्नुपर्नेमा उनले जोड दिए।  ‘अमुक फाइल खोल्यो भने अमुक दलको अध्यक्षलाई तान्न सकिएला, अमुक फाइल खोल्यो भने चाहिँ अर्को पार्टीको अध्यक्षलाई तान्न सकिएला भन्ने मनोविज्ञानले होइन,’ उनले भने, ‘जिम्मेवार ढंगले ००७ देखिकै फाइल खोलौं र कारबाहीमा कुनै मोलाहिजा नगरौं।’

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्