Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बन्न नेता खनालकाे सुझाव

खनालले  मन्दिरमा पूजा गरेर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्न पनि पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरे।
पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बन्न नेता खनालकाे सुझाव

काठमाडौं, जेठ १३ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न सुझाएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले केही दिनयता विभिन्न ठाउँमा गरेको भ्रमणप्रति टिप्पणी गर्दै उनले  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले  मन्दिरमा पूजा गरेर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्न पनि आग्रह गरे।

पूर्वराजाको गतिविधिले लोकतन्त्र कमजोर हुने भन्ने कुरा गलत रहेको पनि उनले बताए। केही समययता पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गने मात्र नभएर विभिन्न स्थानको भ्रमणलाई पनि तीव्रता दिएका छन्। विभिन्न स्थानमा पुग्दा उनी नागरिक अभिनन्दनमा सहभागी हुने गरेका छन्। उनको त्यस्तो गतिविधिलाई प्रमुख दलहरुले भने रुचाएका छैनन्।  

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। उनी मन्दिरमा जान्छन् । अभिनन्दनका कुरा छन् । एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्,’ खनालले भने, ‘राप्रपाको अध्यक्ष बन्नुस् वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन।’ 

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुनुपर्ने आवश्यकता पनि औंल्याए। पूर्वराजाविरुद्ध खनिने क्रममा उनले ढोल र घण्टी अराजकताको संकेत भएको भन्दै  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गरे। । ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ,’ उनले भने, ‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन्।’

खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने बताए। ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ, अहिले यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएकाप्रति धिक्कार,’ उनले भने, ‘यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्।’

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्