Kathmandu Press

नीरफूल’ मौलिक स्वादमा बनेको चलचित्र हो : दयाहाङ राई 

शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चलचित्र निर्माणको समयको नालीबेली समेत सुनाए।
नीरफूल’ मौलिक स्वादमा बनेको चलचित्र हो : दयाहाङ राई 

काठमाडाैं, जेठ १३ : दुई हप्तापछि मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दाबी गरेका थिए।

शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चलचित्र निर्माणको समयको नालीबेली समेत सुनाए। ‘यो चलचित्र खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौँ’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ। मैले अभिनय गरेको राम्रा चलचित्रहरुमध्ये यो पनि एक हुनेछ। मौलिक विषयबस्तुलाई मौलिक रुपमा नै पस्किन खोजिएको छ चलचित्र हो यो।’ 

Hardik ivf

सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले हाल प्रदर्शन भइरहेको आफ्नै अर्को चलचित्र ‘जारी’को समेत सन्दर्भ उल्लेख गर्दै लिम्बु समुदायको सांस्कृतिक पक्ष ‘जारी’ मा आएजस्तै ‘नीरफूल’ मा पनि त्यस्तै फरक समुदायको सांस्कृतिक स्वाद पाइने दाबी गरे। ‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु’, उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ।’ 

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए। ‘नीरफूलबारे यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उहाँले भन्नु भयो, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ।’ 

तीनवर्ष अघि कोरोना महामारीका कारण रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गर्नु भएको हो। चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे। भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय गर्नुभएको छ। ‘चलचित्रमा भूकम्प आउँछ, तर यो चलचित्र भूकम्पको कथा माथि होइन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्प चाहिँ चलचित्रमा छ।’  

भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटिएको चलचित्र कोरोनाको कारणले प्रदर्शन हुन समय लागेको र त्यही कारणले निर्माण लागत पनि बढेको बताए।  सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ। यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्