Kathmandu Press

झापामा अधिकांशको हत्या आफन्तबाटै

झापामा अधिकांशको हत्या आफन्तबाटै

झापा, जेठ १३ : झापामा अधिकांशको हत्या आफन्तबाटै भएकाे तथ्यांक देखिएकाे छ। घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको र जसमा अधिकांशको हत्या आफन्तबाट भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको हाे। 

आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमानबाट मारिएका छन्। सामान्य घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए। 

उनले हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोकलगायत घरेलु हतियार प्रयोग गरेको पाइएको बताए। उनले भने, 'आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन्।'

उहाँले जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारी लगायतबाट भएको बताए। उनले घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँडरक्सी र लागुऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको बताए। 

प्रकाशित मिति: १३:०१ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्