भ्रष्टाचारविरुद्धको लडाइँमा लागेकाले कतिबेला दुस्मनबाट मारिने भन्ने ठेगान छैन : प्रधानमन्त्री
‘बेथिति, विकृति, भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ। जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन। अहिलेको लडाइँ पनि त्यस्तै भएको छ। कतिबेला घेरामा परिने हो, मारिने हो, दुस्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन।’
काठमाडौं, जेठ १३ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको हुँदा कतिबेला दुस्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका छन्।
प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय साधारण सभा तथा २१औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले भ्रष्टाचारविरुद्धको लडाइँलाई जनयुद्धसँग तुलना गर्दै कतिबेला घेराबन्दीमा परिने हो र कतिबेला मारिने हो भन्ने कुनै ठेगान नभएको बताएका हुन्।
‘बेथिति, विकृति, भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ। जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन। अहिलेको लडाइँ पनि त्यस्तै भएको छ। कतिबेला घेरामा परिने हो, मारिने हो, दुस्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन।’
प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा पनि जनताले साथ दिने दाबी गरे।
भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकल्प नरहेको उल्लेख गर्दै दाहालले केही समयभित्रै अझ ठुला एक्सनहरु हुने र त्यसले पार्ने तरंग पनि ठुलो हुने बताए।
‘अहिले नदेखिएको मात्रै हो। केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन्, तरंगहरू पनि ठुलै आउनेछन्,’ उनले भने।