जनमत पार्टीले बजेटपछि सरकारबारे निर्णय लिने
संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि निर्णय गर्ने उसको तयारी छ।
काठमाडौं, जेठ १२ : सरकारलाई दिएको समर्थन जारी राख्ने कि फिर्ता लिने भन्ने विषयमा जनमत पार्टीले बजेटपछि मात्रै निर्णय गर्ने भएको छ। शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद विस्तारप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकार छाडेको थियो। तर, उसले समर्थन कायमै राखेको छ।
शुक्रबारको बैठकल विधान संशोधन, केन्द्रीय समितिको संख्या थप, कार्यकारिणी समिति गठन र सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ ।
संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि निर्णय गर्ने उसको तयारी छ। जसपा नेतृत्वको मधेश सरकारमा जनमत पार्टी सहभागी छ ।
तर गत १० वैशाखको उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनमत पार्टीले उम्मेदवार खडा गरेपछि दुवै पार्टीबीच खटपट छ। त्यसैको परिणामस्वरुप बुधबार मात्रै मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीको जिम्मेवारी खोसेका थिए।











