Kathmandu Press

सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद : ओली

सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद : ओली

काठमाडौं, जेठ १२ : एमाले अध्यक्ष केपी ओलीले संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको बताएका छन्।

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले भने, ‘एक जना माओवादी सांसदले रोस्ट्रममा उभिएर बोल्दा कोभिडको औषधिमा २ अर्ब केपी ओलीले खायो। कहाँ गयो त्यो? पशुपतिमा सुनको जलहरी चलाउँछु भनेर पित्तलको जलहरी चलाएर भ्रष्टाचार गर्यो भनेर बोले। त्यो भनाइ अनुत्तरदायी मात्र होइन, गैर जिम्मेवारको हद हो।’ 

Hardik ivf

उनले थपे,  ‘रकम दिएपछि सुन कि पित्तल ट्वा ट्वाक पार्न गएको थिएँ म? ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने!’ सरकारको नीति तथा कार्यक्रममा कमजोरी देखाउँदा एमालेविरुद्ध सत्तारुढ सांसदले गैरजिम्मेवार टिप्पणी गर्ने गरेको उनको भनाइ थियो।

संसदजस्तो गरिमामय ठाउँमा जनतामा भ्रम पार्ने कुरा गरिएको बताउँदै उनले भने, ‘कि त पुष्टि हुनुपर्‍यो, पुष्टि हुने त सम्भावनै छैन, नेकपा एमाले, त्यसमा पनि मैले जसले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध यस्तो आरोप लगाइएको छ।’

भुटानी शरणार्थी प्रकरण एमालेले नै चलाएको जसरी प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । एमाले र आफूनजिक रहेको भनिएकालाई कसरी पोल्ने र हिलो छ्याप्ने भनेर कोसिस भइरहेको उनको भनाइ थियो।

आफूहरूविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी पनि एमालेतिर खन्याउन खोजिएको उनले दाबी गरे। ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका रहेछन्। यसमा को–को सामेल छन्, अदालतमा केस भएकाले म धेरै बोल्दिनँ,’ एमाले अध्यक्ष ओलीले भने,  ‘तर दोष एमालेमाथि लगाउन खोजियो मिडिया, सामाजिक सञ्जाल आदिमा।’

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्