प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने

सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको बताएको हो।
प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने

काठमाडौं, जेठ १२ : पौन १ बजे अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक ३ बजेका लागि तोकिए पनि सो समयमा बस्न नसकेपछि ६ बजेका लागि सरको छ।

आफ्नो पार्टीका अध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले विरोधमा उत्रिएका कारण बैठक स्थगित भएको थियो। संसद् सचिवालयले सूचना प्रकाशन गरेर बैठक ६ बजे मात्रै बस्ने जानकारी दिएको छ। सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको बताएको हो। 

बैठकमा एमालेले बिनाआधार एमालेका नेतामाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै वेल घेराउ गरेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएको भन्दै सरकारले धारणा दिनुपर्ने गिरीले बताए। जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सांसद लेखनाथ दाहालले ओलीले पित्तलको जलहरी लगाएको आरोप लगाएका थिए।

एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल भनी छिनोफोनो हुनुपर्ने र ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरेका थिए। सभामुखले उठेका विषयमा संसदीय प्रक्रिया अवरुद्ध नगरी बैठकबाटै निष्कर्ष निकाल्नुपर्ने र सरकारले जवाफ दिने भन्दै बैठक सञ्चालन गर्ने प्रयास गरे। उनले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए। पाण्डेले संसदमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोस्ट्र घेराउ गरेपछि सभामुखले २० मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए।

संसद बैठक स्थगित भएलगत्तै सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले माफी माग्नुपर्ने माग गरे। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरे। तर सहमति नजुटेपछि बैठक बस्न नसकेको जनाइउको छ।

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्