३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ४ बज्दा पनि सुरू भएन
सर्वदलीय बैठक बसेर ३ बजे बैठक सुरु गर्ने सहमति भए पनि अझै सुरु भएको छैन। बैठक सुरु हुन नसकेपछि सभामुखले फेरि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेको बताइएको छ।
काठमाडौं, जेठ १२ : एमालेका सांसदहरुको नाराबाजीपछि पौने १ बजेतिर २० मिनेटका लागि स्थगित भएको संसद बैठक ३ बजे बस्ने भनिएको थियो।
सर्वदलीय बैठक बसेर ३ बजे बैठक सुरु गर्ने सहमति भए पनि अझै सुरु भएको छैन। बैठक सुरु हुन नसकेपछि सभामुखले फेरि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेको बताइएको छ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए। जेठ १० गतेको बैठकमा दाहालले पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएको भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल भनी छिनोफोनो हुनुपर्ने र ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरेका थिए।
सभामुखले उठेका विषयमा संसदीय प्रक्रिया अवरुद्ध नगरी बैठकबाटै निष्कर्ष निकाल्नुपर्ने र सरकारले जवाफ दिने भन्दै बैठक सञ्चालन गर्ने प्रयास गरे। उनले माओवादी कैनद्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोलन दिए। पाण्डेले संसदमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोस्ट्र घेराउ गरेपछि सभामुखले २० मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए
संसद बैठक स्थगित भएलगत्तै सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले माफी माग्नुपर्ने माग गरे। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरे। तर सहमति नजुटेको बताइएको छ। तथापि दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि बस्न सकेको छैन।











