Kathmandu Press

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

'१३ वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ,' उपराष्ट्रपति यादवले भने। 
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

काठमाडाैं, जेठ १२ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन्। 

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उनले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिएका हुन्।

'१३ वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ,' उपराष्ट्रपति यादवले भने। 

खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गर्नुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताए। 'तपाईंका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु। यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस्,' उनले भने।

उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताए। 'तपाईंको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका र विभिन्न कारणले अङ्गभङ्ग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु', उनले भने। 

बुढामगरले कायम गरेको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति पनि अन्यसरह विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक सन्देश सञ्चार गरेको उनले बताए। 'तपाईंको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति अरुको भर र दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु। गौरवशाली उपलब्धिपछि मुलुकभर खुशी साटासाट भई रहेकै बेला तपाईलाई हार्दिक बधाईसहित सम्मान गर्दा म गौरवको अनुभव गरिरहेको छु।'

उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विध्न जारी रहोस् भन्दै प्रशंसा गर्नुभयो। उनले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्। 

रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। 
 

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्