सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई
बालुवाटारस्थित सभामुख निवासमा आज बुढामगरलाई स्वागत गर्दै उनीहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गरे।
काठमाडाैं, जेठ ११ : सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।
बालुवाटारस्थित सभामुख निवासमा आज बुढामगरलाई स्वागत गर्दै उनीहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गरे।
सभामुख घिमिरेले भने, 'तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।' उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे।
सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो। बधाई पत्रमा उनले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राखेको विश्व कीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्।
रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।











