सहकारीकाे रकम हिनामिना गरेकाे आरोप लागेपछि ढोरपाटनका मेयर एमालेबाट निलम्बित
बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई एमालेले निलम्बन गरेको छ।
काठमाडौं, जेठ ११ : नेकपा एमालेले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पार्टीबाट निलम्बन गरेको छ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई एमालेले निलम्बन गरेको छ।
एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका उनलाई सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पाटीृले निलम्बन गरेको हो। उनी बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन्।
एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले विज्ञप्ति जारी गरेर नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको जानकारी दिएका हुन्। त्यस्तै छानबिनमा सहयोग पुर्याउन नेपालीलाई एमालेले आग्रह गरेको छ।
‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
सो सहकारीका नेपालीसहित अन्य पदाधिकारी बचतकर्ताको रकम फिर्ता नगरेर फरार छन्। गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ।
हेर्नुहोस् विज्ञप्ति












