सिथि नखःमा यसरी गरियाे पानीका स्राेतकाे सफाइ [तस्बिरहरू]
वर्षातका बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नुपर्ने सन्देश दिन नेवार समुदायमका यो पर्व मनाउने गरिन्छ।![सिथि नखःमा यसरी गरियाे पानीका स्राेतकाे सफाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/1654426065_siti_nakha1684993803.jpg)
काठमाडाैं, जेठ २२ : आज (बुधबार) ज्येष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायको सिथि नखः पर्व। इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गरेर यो पर्व मनाइएकाे छ।
प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन यो पर्व मनाइन्छ। यस पर्वमा विषेशगरी कुमार देवताको पूजा हुन्छ। आजको दिनलाई कुमार षष्ठी पनि भनिन्छ।
वर्षातका बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नुपर्ने सन्देश दिन नेवार समुदायमका यो पर्व मनाउने गरिन्छ।
साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको छ।
सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्याउने गर्दछन्। त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन्।
भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन पनि रहेको छ।
यस पर्वमा घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ।
















