Kathmandu Press

नेपाल प्रहरीले भन्यो- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन

प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ।
नेपाल प्रहरीले भन्यो- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन

काठमाडौं, जेठ १० : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको नेपाल प्रहरीले बताएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताएका हुन्।

‘कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ’, प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ।

प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद् रहेको बताए।

‘नेपाल प्रहरी सदैव संविधान, कानून र सङ्गठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन्, निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्रहरी महानिरिक्षकले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीलाई जोगाउन भूमिका खेलेको भन्दै उनलाई निलम्बन गरी सत्यतथ्य छानविन गर्नुपर्छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: २०:१२ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्