Kathmandu Press

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

‘सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ। उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ,’ उनले भने।
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, जेठ १० : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताए। उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए।

‘सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ। उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ,’ उनले भने।

बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताए। उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकालाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए।

शारीरिकरूपमा अशक्त भएका व्यक्तिलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो।

‘आज सम्मानित हुन पाउँदा निकै खुसी छु। यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो। नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ,’ उनले भने, ‘पहिला प्रतिबन्ध हुँदा नेपालमा स्वागत छैनजस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ।’

उनले आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताए।
 
कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

प्रकाशित मिति: २०:०२ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्