ढाकाकुमारको माग सर्वोच्चद्वारा अस्विकार, सांसद पद नरहने
रिटमा रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि तत्कालका लागि रास्वपा र संसद् सचिवालयको कारबाही कायम भएको छ।
काठमाडौं, जेठ १० : ढाकाकुमार श्रेष्ठको सांसद पद खारेजीको बिषयमा सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। सर्वोच्चको बुधवारको आदेशसँगै श्रेष्ठको सांसद पद गुगेको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यसअघि श्रेष्ठको पक्षमा भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेसँगै सांसद पद गुमाएका थिए।
उनले सर्वोच्चमा दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल सांसद पद खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो।
श्रेष्ठले आफुमाथिको कारबाही फिर्ता गरी सांसद पद कायम गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि तत्कालका लागि रास्वपा र संसद् सचिवालयको कारबाही कायम भएको छ।
आफु पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुन लागेको र रास्वपा सभापति रवि लामिछानेको ‘कोर टिम’ लाई पैसा बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दूर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि कारवाहीमा परेका थिए । संसद् सचिवालयले श्रेष्ठको पद रिक्त रहेको सूचना सार्वजनिक गरेको थियो।
यही बीचचमा रास्वपाले श्रेष्ठको स्थानमा एसिड पीडित विन्दाबासीनी कंसाकारको नाम सिफारिस गरेपछि श्रेष्ठ सर्वोच्च पुगेका हुन्। रिटमा निर्वाचन आयोगलाई आफ्नो बिषयमा कुनै निर्णय नलिन समेत श्रेष्ठले माग गरेका थिए।
निर्वाचन आयोगले भने कंसाकारलाई सांसदको प्रमाणपत्र दिइसकेको छ। सर्वोच्चको आदेशसँगै उनले शपथ लिन पाएकी थिइनन्। बुधबारको आदेशले कंसाकारको सपथको बाटो खोलिदिएको छ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


