रवि लामिछानेविरुद्ध रिट दर्ता, जेठ १७ गते सुनुवाइ हुने
लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको दाबी गर्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्।
काठमाडौं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदमा बहाल रहन अयोग्य रहेको दाबीसहित बुधबार रिट दर्ता भएको छ। उक्त रिटमा आगामी जेठ १७ गतेका लागि सुनुवाइसमेत तोकिएको छ।
लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको दाबी गर्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्। रिट निवेदनको अन्तिम निर्णय नहुँदासम्म लामिछानेलाई प्रतिनिधिसभा सदस्यको रूपमा कार्यमा रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ।
रिट निवेदक सफलले लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा प्रवेश नगरी नागरिकताको प्रतिलिपि लिएको जिकिर रिट निवेदनमा गरेका छन्। लामिछानेले अवैध नागरिकताका आधारमा चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको दाबी गर्दै बदर हुनुपर्ने माग छ। अब रविको सांंसद पदका विषयमा पुनः सर्वोच्च अदालतमा न्यायिक परिक्षण हुने भएको छ।
यसअघि सर्वोच्च प्रसासनबाट दर्ता गर्न अस्विकार भएको उक्त रिटलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार दर्ता गर्न आदेश दिएपछि नयाँ विवादले अदालतमा प्रवेश पाएको हो। उपनिर्वाचनपछि सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले पेश गरेको रिटमा गत वैशाख २८ गते सर्वोच्च प्रशासनले रिट दरपिठ (दर्ता अस्विकार) गर्ने आदेश दिएको थियो।
सर्वोच्च प्रशासनको उक्त दरपिठ आदेशविरुद्ध गत जेठ १ गते पौडेलले अर्को निवेदन दिएका थिए। उक्त निवेदनमा भएको वहशपछि न्यायाधीश श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो। यससँगै रविको प्रतिनिधि सभा सदस्य पदमा सर्वोच्च अदालतमा दोस्रोपल्ट न्यायिक परिक्षण हुने छ।
यसअघि पनि पौडेलले दिएको रिटमा रविले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला सुनाउँदै सर्वोच्चले सांसद पद खारेज गरेको थियो। गत माघ १३ गतेको उक्त फैसला अनुरुप रवि ‘अनागरिक’ घोषित भएपछि सांसदका लागि समेत अयोग्य सावित भएका थिए। पौडेलले पुनः रविको योग्यतामा कानुनी प्रश्न उठाउँदै अर्को रिट दिएका हुन्।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


