सचिव पाण्डेले राजनीतिक बिचौलिया भन्दै बयानमा पोलेका झा को हुन् ?
शरणार्थी प्रकरणमा झाका नाममा रहेको दुई करोड रुपैयाँको चेकसमेत प्रहरीले फेला पारेको छ।
काठमाडौं, जेठ १० : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाउने तयारी भइरहेका बेला राजनीतिक ‘बिचौलिया’ भनेर पोलिएका बेचन झा को हुन् भनेर सर्वत्र खोजीको बिषय बनेको छ। शरणार्थी प्रकरणमा उनका नाममा रहेको दुई करोड रुपैयाँको चेक समेत प्रहरीले फेला पारेको छ।
शरणार्थी प्रकरणमा तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले जिल्ला सरकारी वकीलसँगको बयानमा झालाई राजनीतिक विचौलिया भनेर पोलेका छन्। पाण्डेले झा भारतीय नागरिक रहेको बताएका छन्। उनी पक्राउ परेपछि यस विषयमा थप तथ्य खुल्ने भनाइ उनको छ। बयानका पाण्डेले झालाई राजनीतिक बिचौलिया भनेका छन्। पाण्डेले झालाई राजनीतिक रूपमा सम्पर्कमा आएको बताएका छन्।
पाण्डेको बयानमा विगतदेखिको गतिविधि र आफ्नो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरूको कनेक्सन हेर्दा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिएको उल्लेख छ। ‘राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ,’ पाण्डेले बयानमा भनेका छन्।
सचिव पाण्डेले शरणार्थी प्रकरण ‘राजनीतिक कनेक्सन’ को विषय भएको पनि बताएका छन्। उक्त प्रकरणलाई सचेतना र सतर्कतापूर्वक लिएर जाहेरीका प्रतिवादी केशवप्रसाद दुलालसँग आवश्यक सूचना प्राप्तिका लागि निकटता कायम गर्न आवश्यक भएका कारण बढी कुराकानी भएको देखिएको दाबी समेत पाण्डेले गरेका छन्।
दुलालले मन्त्रीलाई भेट्ने भनेपछि सचिवालयमार्फत सम्पर्क गर्ने भनेको उनले बयानमा भनेका छन्। ‘मन्त्रीज्यू’लाई भेटघाट गर्न चाहन्छौं भनेपछि मैले सचिवालयमार्फत नै सम्पर्क गर्नु भनेर भनेको हो। फर्किने क्रममा हामीले मन्त्रीज्यू’सँग सम्पर्क गर्यौं भनेका थिए।’ उनले बयानका क्रममा भनेमा छन्।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


