Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम चैतमै पेस हुनुपर्छ : गगन थापा

‘चैत महिनामा नीति कार्यक्रम यहाँ पेस हुनुपर्छ। वैशाख र जेठमा बजेट कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने हो,’ उनले भने।
सरकारको नीति तथा कार्यक्रम चैतमै पेस हुनुपर्छ : गगन थापा

काठमाडौं, जेठ १० : कांग्रेस सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम चैतमै पेस हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले विगतदेखिकै शृङ्खला बदल्न आफू र अर्का सांसद विश्वप्रकाश शर्माले अर्थमन्त्रीलाई भेटेर तालिका र व्याख्या बुझाएको पनि उनले बताए।

‘चैत महिनामा नीति कार्यक्रम यहाँ पेस हुनुपर्छ। वैशाख र जेठमा बजेट कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने हो,’ उनले भने।

नीति तथा कार्यक्रम प्रधानमन्त्रीको भिजनका आधारमा बन्ने नगरेको दाबी गरे। ‘प्रधानमन्त्रीलाई भाषण गर्दा सबै कुरा थाहा भएजस्तो लाग्छ। तर थाहा हुँदैन एक प्रकारको बयानबाजी मात्र हुन्छ, के गर्ने कसो गर्ने भन्ने थाहा हुँदैन। मन्त्रीलाई पनि थाहा हुँदैन। सचिवले मन्त्रीलाई ब्रिफिङ दिन्छ र सोहीअनुसार मन्त्रीले निर्देशन दिन थाल्छ,’ उनले भने, ‘त्यो निर्देशन र घोषणापत्र पत्रपत्रिकामा छापिन्छ अनि त्यो छापिएको कुराहरू पढेर आएर हामी त्यसकै वरिपरि प्रतिक्रिया व्यक्त गर्छौंं, प्रश्न राख्छौं। हामी यसरी रुमलिएका छौं।’

नीति तथा कार्यक्रमलाई उनले असन्तुष्ट सचिवहरुले कम्पाइल गरेको कुरा मात्र भएको बताए। ‘मन्त्रालयले फागुन, चैततिर योजना शाखाबाट आफूमातहत निकायहरूलाई एउटा सन्देश पठाउँछ, नीति तथा कार्यक्रममा राख्ने कुरा पठाउनुहोस् भनेर भन्छ। त्यसको कम्पाइल हुन्छ र मन्त्रिपरिषदमा पठाइन्छ। प्रधानमन्त्री कार्यालयमा केही सचिव हुनुहुन्छ, जो ठिक ठाउँमा मेरो सरुवा भएन भनेर बस्नुभएको हुन्छ। झोक्राएर बस्ने सचिवहरूको सानो एउटा समूह बनाइन्छ, अनि त्यो समूहलाई कम्पाइल गर्न दिइन्छ र त्यो कम्पाइल गरेको कुरालाई नीति कार्यक्रम भनिन्छ।’

नीति तथा कार्यक्रममा बजेट बन्ने जसरी बहस भइरहेको बताउँदै उनले भने, ‘बजेट त लक भइसक्यो त्यो छाप्न मात्र बाँकी हो नि,’ उनले भने, ‘यसभित्र भएको छलफल र बहसलाई कसले ग्रहण गर्ने हो? यस विषयमा हामीले कहिले प्रश्न गरेनौं।’

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्