Kathmandu Press

हिरण्य भोजपुरेको ‘मुसुक्क म’ बजारमा

उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यहि गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइहरुबाट निस्कने भावलाई यी लघुकथाहरुमा अभिव्यक्त गरेका छन्।
हिरण्य भोजपुरेको ‘मुसुक्क म’ बजारमा

काठमाडौं, जेठ ९ : लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन्।

पब्लिकेशन नेपालयबाट प्रकाशित भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ मंगलबारबाट बजारमा उपलब्ध भएको छ।

एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका अधिकांश कथाहरु एउटा पानामै सकिएका छन्। अझ कतिपय त एक दुई अनुच्छेदमै अभिब्यक्त भएका यी कथाहरुको सिंगो संग्रह एक बसाइँमै पढिसकिने हिसाबले तयार भएको छ।

Hardik ivf

डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।

नेपाली संगीतमा हिरण्य ‘भोजपुरे’ परिचित नाम हो। साढे पाँच दसकअघि नेपालमा केही तन्नेरीहरु मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए। त्यसमा विशेषगरि भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिती थियो।

भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ। उनीहरुले विशेषगरि लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए।

भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरुभएको थियो। त्यसको शब्द थियोः

मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारि पारि हिमालमा उडिरहने
बादलुको केश, मेरो देश

आफैंले संगीत दिएर गाएको भोजपुरेको यो गीत राष्ट्रिय भावनाका नेपाली गीतहरुमाझ अजम्बरी मानिन्छ।

यसरी नेपाली साहित्यमा गीतकारका रुपमा उदाएका भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन्। यसपटक भने उनी लघुकथाकारका रुपमा पाठकमाझ उपस्थित भएका हुन्।

उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यहि गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइहरुबाट निस्कने भावलाई यी लघुकथाहरुमा अभिव्यक्त गरेका छन्। आख्यान भइकन पनि पढिरहँदा कतिपय भोगाइ उनको आफ्नै हुन् भनेर बुझ्न पनि सकिन्छ।

‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ भोजपुरे लघुकथाहरुको रचना बारेमा भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यहि कुरा आफुलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयार भएको हो।’

दुई विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामा पनि संलग्न रहे। तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ।

भोजपुरेले यी लघुकथाहरु छ वर्षयता सिर्जना गरेका हुन्। ‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरे भन्छन्, ‘त्यो कालखण्डमा म छोरी ज्वाईं , छोरा बुहारी र नाती नातिना समिप अमेरिकातिर रहेकोले, प्रवासिँदाका नेपाली भोगाइहरु पनि यी कथाहरुमा समेटिन पुगेका छन्।’

भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन्।

ईबुकको प्रतिलिपि र अडियो बुक thuprai.com बाट किन्न सकिन्छ। मास्केका अनुसार यो पुस्तक संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन्।

 

प्रकाशित मिति: २२:१७ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
चर्चित गीतकार एलपी जोशीको निधन
चर्चित गीतकार एलपी जोशीको निधन