आरोपीलाई करकापमा पारेर एमाले नेताहरूको नाम लिन लगाइइयो, यो एमालेलाई सह्य हुँदैन : ओलीले
‘विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन।’
काठमाडौं, जेठ ९ : एमाले अध्यक्ष केपी ओलीले भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताहरुलाई जबर्जस्ती मुछिएको बताएका छन्।
मंगबलार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यो प्रकरणमा पक्राउ परेकालाई कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताए।
उनले मिडिया र सामाजिक सञ्जालमार्फत बजारमा कुरा छरेर योजनाबद्ध रुपमा आफ्ना नेताहरुको नाम उच्चारण गर्न लगाइएको बताए। त्यस्तो कुरा एमालेले सह्य नहुने पनि ओलीले उल्लेख गरे।
‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन,’ ओलीले भने।
अध्यक्ष ओलीले नेपालमा छानबिन कसरी हुन्छ भन्ने आफूलाई राम्रोसँग थाहा भएको पनि बताए। उनले भने, ‘आरोप लगाइदिएपछि पुग्यो, हामीले छानबिन देखेका छौं? थुप्रै कुरा भोगेर आएका छौं। त्यसै कारण परिवर्तन गर्न लागेका छौं।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी ओलीले गरे। उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकणमा एकमुष्ट रूपमा भन्न चाहान्छु एमाले संलग्न थिएन, छैन र हुने छैन।’
भ्रष्टाचारको विषयमा एमाले संलग्न नहुने बताउँदै ओलीले कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफैं अग्रसर हुने बताए।
भ्रष्टाचारीले श्वास फेरे पनि आत्म मृत भइसकेको हुन्छ बताउँदै उनले एमाले आत्मा मरेका बेइमानहरूको पार्टी नभएको बताए ।
ओलीले देश राजनीतिक अफ्ठ्यारो अवस्थामा रहेको बताए । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


