बोवाओ फोरममा नजाने भनेर निर्णय भएको छैन : प्रधानमन्त्री
राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बोवाओ फोरमको निम्तो आएको बताउँदै नजाने निर्णय नेपालले नगरेको प्रस्ट्याए।
काठमाडौं, जेठ ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने भनेर नेपालले निर्णय नगरेको बताए।
राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बोवाओ फोरमको निम्तो आएको बताउँदै नजाने निर्णय नेपालले नगरेको प्रस्ट्याए।
‘नेपाल सरकारले नजाने भनेर निर्णय गरेको छैन, यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाब, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले,’ उनले भने, ‘अलि पछि गरौं कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईंले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो।’
प्रधानमन्त्री दहालले पहिले भारत भ्रमण गर्ने वा चीन भन्ने कुनै संवैधानिक र कानुनी बाध्यता नभएको पनि बताए। समय र परिस्थिति अनुसार सरकारले निर्णय गर्ने प्रचण्डको भनाई थियो।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेको पनि बताए। भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धको महत्व आदि कारणले भारतसँग विशिष्ट सम्बन्ध रहेको भनाई पनि उनले राखे।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


