Kathmandu Press

विवादबीच मधेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख हरिशंकर मिश्रले भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
विवादबीच मधेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

धनुषा, जेठ ९ : मधेश प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्। मन्त्री नियुक्त भएका नेपाली कांग्रेसका दुई तथा नेकपा एकीकृत समाजवादीका एक जनाले मंगलबार शपथग्रहण गरेका हुन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

यादव र सिंह कांग्रेसबाट मन्त्री बनेका हुन् भने न्यौपाने एकीकृत समाजवादीका हुन्।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र, जनमत तथा लोकतान्त्रिक समाजवादी पार्टीको असन्तुष्टिका कारण शपथग्रहण समारोह निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको थियो।

माओवादीले सरकारमा सहभागी २ मन्त्रीलाई फिर्ता बोलाउँदै सरकार छाड्ने घोषणा गरेको छ। सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार भएको भन्दै माओवादीले सरकार छाड्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता भरत साह बताए।

मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्दा सत्ता साझेदार दलहरुसँग सामान्य छलफलसमेत नगरेको उनको गुनासो छ।

शपथ ग्रहणपछि मुख्यमन्त्री यादवले माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएको विषयमा कुनै जानकारी नभएको बताउँदै सत्ता साझेदार दलहरुबीचको समस्या एक साताभित्र समाधान हुने दाबी गरे।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्