रविको योग्यता विवादमा पुनः न्यायिक परिक्षण हुने

युवराज पौडेल ‘सफल’ले पेश गरेको रिटमा गत वैशाख २८ गते सर्वोच्च प्रशासनले रिट दरपिठ गर्ने आदेश दिएको थियो । यससँगै रविको प्रतिनिधि सभा सदस्य पदमा सर्वोच्च अदालतमा दोस्रोपल्ट न्यायिक परिक्षण हुनेछ।
रविको योग्यता विवादमा पुनः न्यायिक परिक्षण हुने

काठमाडौं, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य पदको पुनः सर्वोच्च अदालतमा न्यायिक परिक्षण हुने भएको छ।

रविको योग्यतामाथि अर्को प्रश्न खडा गर्दै पेश भएको रिट दर्ता गर्न सर्वोच्चको एकल इजलासबाट आदेश भएको छ। यसअघि सर्वोच्च प्रसासनबाट दर्ता गर्न अस्विकार भएको उक्त रिटलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमवार दर्ता गर्न आदेश दिएपछि नयाँ विवादले अदालतमा प्रवेश पाएको हो।

उपनिर्वाचनपछि सिन्धुलीका युवराज पौडेल ‘सफल’ले पेश गरेको रिटमा गत वैशाख २८ गते सर्वोच्च प्रशासनले रिट दरपिठ (दर्ता अस्विकार) गर्ने आदेश दिएको थियो । यससँगै रविको प्रतिनिधि सभा सदस्य पदमा सर्वोच्च अदालतमा दोस्रोपल्ट न्यायिक परिक्षण हुनेछ।

सर्वोच्च प्रशासनको उक्त दरपिठ आदेशविरुद्ध गत जेठ १ गते पौडेलले अर्को निवेदन दिएका थिए। उक्त निवेदनमा भएको वहशपछि न्यायाधीश श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो। पौडेलले रवि प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको दाबी रिटमा गरेका छन्।

पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी जिल्ला प्रसासन कार्यालयबाट नेपाली नागरिकता लिएको दाबी गर्दै त्यही नागरिकता प्रयोग गरी चितवन– २ को उपनिर्वाचनमा निर्वाचित भएको भनाई पौडेलको छ।

यसअघि पनि पौडेलले दिएको रिटमा रविले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला सुनाउँदै सर्वोच्चले सांसद पद खारेज गरेको थियो।

गत माघ १३ गतेको उक्त फैसला अनुरुप रवि ‘अनागरिक’ घोषित भएपछि सांसदका लागि समेत अयोग्य सावित भएका थिए। पौडेलले पुनः रविको योग्यतामा कानुनी प्रश्न उठाउँदै अर्को रिट दिएका हुन्।

 

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्