Kathmandu Press

काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए।
काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

काठमाडौं, जेठ ९ : काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए।

 ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ’, उजले भने।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए। पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७ मुद्दा दर्ता भएका छन्।

यस्तै आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन्।
परिसरमा गत आवमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए।

प्रकाशित मिति: ११:१० बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्